डडेल्धुरामा बाघको छालासहित एकजना पक्राउ

पाैने

डडेल्धुरा। डडेल्धुरामा बाघको छालासहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार दशरथचन्द राजमार्ग सडकखण्डमा  बाघको छाला तस्कर गरिरहेका अजयमेरु गाउँपालिका १ का २९ वर्षीय जगतसिंह भण्डारी पक्राउ परेका हुन। भण्डारीलाई अमरगढी नगरपालीका–६ तोलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सु प प्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकलमा अवैध छालासहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका भण्डारीको साथबाट भालुको ठूलो पित्त एक थान, ठुलो बाघको जस्तोदेखिने छाला एक थान, सानो बाघको जस्तो देखिने छाला एक थान बरामद गरिएको हो। पक्राउ परेका भण्डारीलाई आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय डडेल्धुरामा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार माघ १० गते साँझ ५ बजेतिर भण्डारीलाई पक्राउ गरिएको भएपनि आइतबार मात्रै सार्वजनिक गरेको छ।

अन्य सम्बन्धित समाचार:  गाई काटेको अभियोगमा २ जना पक्राउ