अनेरास्ववियूले स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं। अनेरास्ववियूको प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीहरुले स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन्। प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै आइतबारबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।

स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम माघ १८ र १९ गते दुई दिन निर्धारण गरिएको छ। ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्‍याली आयोजना गर्न थालेको छ। यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं। विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं।’अनेरास्ववियूले स्थानीय तहमा बुझाउन तयार पारिएको ज्ञापन पत्रमा लेखिएको छ।

अन्य सम्बन्धित समाचार:  कांग्रेसद्वारा स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध माग

अर्को वर्ष हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्न र जनताको सुशासनप्रतितको आकांक्षा पूरा गर्न पनि अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको छ।

अनेरास्ववियूको प्रचण्ड–नेपाल समूह संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनमा छ।