बर्डफ्लू भेटिएको तारकेश्वर क्षेत्रका १० जना निगरानीमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बर्डफ्लू भेटिएको काठमाडौंको तारकेश्वर क्षेत्रका १० जनालाई निगरानीमा राखेको छ। महाशाखाले तारकेश्वर क्षेत्रको हाँस, कुखुरा र टर्की चरा नष्ट गर्ने काम गरेका १० जनालाई निगरानीमा राखेको हो।

ती व्यक्तिलाई कम्तीमा सात दिनसम्म अन्य मानिसहरूसँग घुलमिल नहुन भनेर निगरानीमा राखेको महाशाखाले जनाएको छ। महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले तारकेश्वर-७ को एउटा फार्मको टर्की चरामा बर्डफ्लू देखिएपछि त्यस वरपरको हाँस कुरा तथा अन्य टर्की चरा नष्ट गर्ने कार्यमा संलग्नहरूलाई सात दिनसम्म आइसोलेसन बस्ने व्यवस्था गरिएको बताए। उनका अनुसार हाल सो क्षेत्रमा महाशाखाका चिकित्सकहरूले ठाउँको स्वास्थ्य अवस्थाबारे स्थलगतरुपमै निगरानी गरेको बताए।

टर्की फार्ममा बर्डफ्लू देखिएपछि दुई हजार ५ सय ४४ वटा हाँस, कुखुरा, बट्टाई र टर्की नष्ट गरिएको पशु सेवा विभागले जानकारी दिएको छ। फार्ममा बर्डफ्लू पुष्टि भएपछि १ हजार ८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। अहिले उक्त फार्मलाई सिल गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको छ।

कुखुरा तथा अन्य चरा प्रजातिमा बर्डफ्लू देखिए पनि नेपाल अहिलेसम्म एकजना मानिसमा मात्र बर्डफ्लू पुष्टि भएको छ। गत साल काभ्रेका एक पुरुषमा बर्डफ्लू देखिएको थियो।

काठमाडौंमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ

काठमाडौंको तारकेश्वरका किसानले पालेकाे टर्की र हाँसमा बर्डफ्लू पुष्टि

 

अन्य सम्बन्धित समाचार:  राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै