ओली सरकारले चुनाव गराउँनै सक्दैनः मिनेद्र रिजाल

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले ओली सरकारले चुनाव गराउँनै नसक्ने ठोकुवा गरेका छन्। बुटवलमा आइतबार आयोजित एक कार्यक्रम नेता रिजालले ‘नरहे बासँ नबजे बासुरी’को संज्ञा दिँदै सरकारले चुनाव गराउन नभई सत्ता लम्बाउनका लागि मिति घोषणा गरेको बताए।

‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन्। प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणाको बहाना मात्रै हो,’ उनले भने। उनले अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताए। सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको दाबी छ। संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनको भनाई छ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए। नेता रिजालले संविधानको मर्म अनुरूपको व्याख्या गर्ने विश्वास व्यक्त गरे। विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निर्णय लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे। ‘पञ्चायतकाल होस् या राजा ज्ञानेन्द्रको पालामा होस अदालतले सही निर्णय गरेको छ। राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ। तसर्थ पुनस्र्थापना हुन्छ,’ उनले भने।

अन्य सम्बन्धित समाचार:  माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाई छ।