प्रतिनिधिसभा विघटन मुद्दामा निवेदकतर्फको बहस सकियो

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा रिट निवेदकतर्फको बहस सकिएको छ। आइतबार रिट निवेदकहरुले बहस गरेर सकेपछि अब विपक्षीको बहस सोमबारदेखि सुरु हुने भएको छ।

संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी दिए। संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन्। सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्नेछन्।

गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। उक्त संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि रिट निवेदकहरुले बहस सुरु गरेका थिए।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि