नेप्से: बजार २ दशमलव २६ प्रतिशतले घट्याे

काठमाडौं। आइतवार बजार २ दशमलव २६ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो बिहीवारको कारोवारकाे‍ तुलनामा बजार ५४ दशमलव ७५ अंकले घटेर २ हजार ३७० दशमलव ५४ विन्दुमा झरेको हो। बिहीवार पनि बजार १६ दशमलव ५५ अंक घटेको थियो। उता सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ७३ अंक घटेर ४३२ दशमलव ३३ विन्दुमा झरेको छ।

उच्च अंकले घटेको बजारमा रू. ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार बराबरको १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर कारोबार भएको छ। कारोबार रकमले भने बजारमा उत्साह कायमै रहेको देखाउँछ। बिहीवार हालसम्मकै रेकर्ड ब्रेक गर्दै रू. ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको २ करोड २१ लाख ५३ हजार कित्ता शेयर कारोबार भएको थियो।

अन्य सम्बन्धित समाचार:  नेप्सेमा उछाल, लगानीकर्ता उत्साहित

आइतवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सकै भएको छ। यसदिन उक्त कम्पनीको रू. ३९ करोड ८९ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ। गत सातादेखि उक्त कम्पनीले लगातार सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको छ।

उच्च अंकले घटेको बजारमा आइतवार उक्त कम्पनीको शेयरमूल्य ३ दशमलव २४ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७६ ले घटेर अन्तिम मूल्य रू. २ हजार २७३ कायम भएको छ। यस दिन कारोबारमा आएका सबै परिसूचक घटेको छ। यी मध्ये पनि वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४ प्रतिशतले घटेको हो।

त्यस्तै बैंकिङको २ दशमलव ४५ प्रतिशत, व्यापारिक शून्य दशमलव ६८ प्रतिशत, होटल १ दशमलव १४ प्रतिशत, विकास बैंक २ दशमलव शून्य ८ प्रतिशत, जलविद्युत १ दशमलव ९८ प्रीतशत, निर्जीवन बीमा २ दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधन २ दशमलव १८ प्रतिशत, अन्य १ दशमलव ३२ प्रतिशत, लघुवित्त २ दशमलव ९२ प्रतिशत , जीवन बीमा २ दशमलव ५८ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ।

अन्य सम्बन्धित समाचार:  विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

घटेको बजारमा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९३ प्रतिशतले बढेको छ। प्रतिकित्ता रू. ६९ ले बढेर उक्त कम्पनीको अन्तिम मूल्य रू. ७६४ कायम भएको हो। यो दिन सर्वाधिक शेयरमूल्य रिलायन्स फाइनान्सको ८ दशमलव ३० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. २३२ कायम भएको हो।