मोटरसाइकल चोरीका आरोपीत पक्राउ

बटुकनाथ झा, धनुषा। जिल्ला प्रहरी कार्यालय धनुषाले मोटर साइकल चोरी गरेकाे आरोपमा ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई  जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हाे। मोटरसाइकल चोरेकाे आराेपमा संलग्न ५ जनालाई ६ वटा चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो।

धनुषाको सशस्त्र प्रहरी बल नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेश कुमार राउतको पार्किङ गरि राखिएको मोटरसाइकल चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

पक्राउ पर्नेहरूमा सिरहाको विष्णुपुर गाउपालिका वडा नम्बर ३ रौजा खोरका रोहित कुमार यादव, विष्णुपुर गाउँपालिका वडा नम्बर २ राजपुरका प्रमोद कुमार यादव, विष्णुपुर वडा नम्बर २ कै मनोज कुमार यादव, धनुषा सबैला नगरपालिका वडा नम्बर ४ पटेर्वाका अमरेन्द्र कुमार यादव रहेका छन्।

चोरीको मोटरसाइकल खरिद गर्ने धनुषा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादवलाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मिश्रले बताए। पक्राउ पर्ने सबै २५ वर्ष मुनिका रहेका छन्।

मोटरसाइकल चोरहरूको गिरोहबाट प्रहरीले ६ वटा चोरीका मोटरसाइकलहरू समेत बरामद गरेकाे छ। प्रहरीले उनीहरूबाट ज ८ प ८७७५ नम्बरको अपाचे, ज १२ प ६११८ नम्बरको २२० सीसीको पल्सर, स ७ प ५२०३ नम्बरको डिस्कभर, को ३८ प  ७६४ नम्बरको सुपर स्प्लेण्डर, स ४ प ५७४६ नम्बरको २२० सीसीको पल्सर र ना ३९ प ६३८२ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद गरिएको उनले बताए ।