कालोसूचीमा राख्नुपर्नेलाई बिनाप्रतिस्पर्धा ठेक्का

काठमाडौं। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न अख्तियारको मुद्दा खेपिरहेका ब्याक्तिलाई बिनाटेन्डर करोडौंको ठेक्का दिएको छ।

सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।

तत्कालीन उपकुलपति डा. बलभद्र दाससँग मिलेर लेखिएको मूल्यभन्दा महँगोमा सामान उपलब्ध गराएको मुद्दामा उनी अदालत धाइरहेकै छन्। उक्त मुद्दामा उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए।

कोभिड अस्पताललाई आवश्यक सामग्री खरिद गर्दा कोभिड मूल्यांकन समितिको सिफारिस लिनुपर्ने प्रावधान छ। तर, निर्देशक गौरीशंकर साहको मात्र सिफारिसमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सोझै उक्त ठेक्का दिएका थिए।

अन्य सम्बन्धित समाचार:  झापामा लम्बियो निषेधाज्ञा: घर बाहिर ननिस्कन आदेश

उपकुलपति डा. गिरीले कानुनविपरीत खरिदमा दबाब दिएपछि कोभिड अस्पताल प्रमुख डा.कृष्ण पोखरेलले त्यही क्रममा राजीनामा दिएकी थिइन्। कानुन मिचेर विभिन्न उपकरण र औषधि खरिद गर्न नमानेपछि खरिद शाखाका प्रमुख विष्णु चापागाईंलाई पनि अन्यत्र सरुवा गरिएको थियो।