देशकै ठूलो ढल्केबर विद्युत् सबस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री

काठमाडौं। देशकै सबैभन्दा ठूलो विद्युत् सबस्टेशनकाे उद्घाटन आज हुँदै छ। धनुषाको ढल्केवरमा निर्माण गरिएको उक्त सबस्टेशनकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धाटन गर्न लागेका हुन्। ओलीले एक समारोहकाबीच सोमबार दिउँसो सवस्टेशनको उद्घाटन गर्ने कार्यक्रम छ।

धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केबरमा निर्माण गरिएको यो सबस्टेशन देशको हालसम्मकै ठूलो क्षमताको सवस्टेशन हो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी पनि सहभागी हुने मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए।

ढल्केबर सबस्टेशनमा हाल १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान गरिएको प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

प्राधिकरणका अनुसार ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्ने क्षमता छ।

सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण गरिएको प्राधिकरणले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आज आमाको मुख हेर्ने दिन