सेती नदी जलविद्युतको ‘पावर हाउस’को काम शुरु

काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ। कोरोना कहरकाबीच गत वैशाखदेखि माछापुछ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसीसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा यही माघको पहिलो सातादेखि विद्युत्गृह (पावर हाउस) निर्माण शुरु गरिएको आयोजनाले जनाएको छ।

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृत्गृह बनाउन लागिएको छ। मेसिनरी उपकरणबाट विद्युत्गृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनामा अहिले १०० मजदुरले काम गरिरहेका छन्।

नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ। पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ।

पाइप लाइनका लागि जमिन रेखाङ्कन सकिएको छ। लुम्बिनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धन गरेको हो।

गत साउनदेखि २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसार नै काम अघि बढेकाले तोकिएको समयअगावै विद्युत् उत्पादन हुने भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए।