बन्द–हडताल नगर्न निजी क्षेत्रको अपिल

काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बन्द हडताल रोक्न आग्रह गरेका छन् । कोभिड–१९ ले अर्थतन्त्र संकुचित बनाएकाले काम गर्ने वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अाफुहरु राजनीतिमा कमेन्ट गर्न नचाहने तर काम गर्ने वातावरण नबिगारिदिन र  काम गर्ने मान्छेलाई अवरोध नगरिदिन  अाग्रह गरे।

संविधान जारी भएपछि राजनीतिक पार्टीहरूले बन्द हडताल नगर्ने प्रतिबद्धता जनाएका थिए । राजनीतिक प्रतिबद्धतापश्चात् तुलनात्मक रूपमा बन्द हडताल धेरै कम भएको थियो । यो सिलसिला फेरि सुरु नहोस् भनेरै निजी क्षेत्र एकजुट भएको महासंघले जनाएको छ । ‘यो समय एकदमै कठिन छ । बन्द हडताल फेरि सुरु नहोस्, त्यही आधारमा संयुक्त विज्ञप्ति निकालेका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘यो सम्पूर्ण निजी क्षेत्रको विज्ञप्ति हो । यसमा सम्पूर्ण निजी क्षेत्रको भावना छ ।’

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा पुन:स्थापनापछि सूक्ष्म आकलन गरिरहेका छौँ : नेपाली सेना

यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले पनि अर्थतन्त्रमा समस्या आएपछि निजी क्षेत्र एकजुट भएको बताए । कोभिडले अर्थतन्त्र बिग्रेकाले त्यतातिर ध्यान दिनुपर्ने उनको भनाइ छ । चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि जनताको चुलो निभ्ने तर नेतृत्व वर्गको चुलो बल्ने काम नगर्न आग्रह गरे । बन्द हडताल गरेर सर्वसाधारण/व्यवसायीलाई काम गर्ने वातावरणबाट वञ्चित गर्न नहुने उनले बताए ।