काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ। बिहीबार बिहानैदेखि नेता तथा कार्यकर्ता सडकमा निस्किर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
बिहानभरी ठप्पजस्तै रहेको उपत्यकाको सडकमा कार्यालय समयसँगै सवारी साधन बाक्लो रुपमा देखिन थालेको छ। भक्तपुर हुँदै काठमाडौं भित्रिने नाका कोटेश्वरसहितका स्थानमा निजी सवारी साधन प्रशस्त चलेका छन् भने सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन्।
लामो समयको लकडाउनबाट जुर्मुराउन थालेको व्यापार व्यवसायसहित मानिसको दैनिकी जीवनमा असर गर्ने गरी गरिएको भन्दै बन्दको अवज्ञा भइरहेको छ। सरकारले सुरक्षा व्यवस्था कडाए बनाएकाले पनि निजी तथा सवारी साधनहरु चल्न थालेका छन्। बन्दकर्ताहरुले निजी सवारी साधनलाई रोक्ने सकेका छैनन्।
बुधबार बन्दका कार्यक्रम घोषणा गर्नेक्रममा यातायात, शिक्षण संस्था, बजार पसललगायतका क्षेत्र बन्द रहने प्रचण्ड–नेपाल समूहले बताए पनि बिहीबार बिहान कार्यालय समयदेखि नै सवारी साधन निर्वाध रुपमा चलिरहेका छन्।
सवारी साधन चले पनि शिक्षण संस्था भने ठप्प रहेको छ।