‘मसाल जुलुस गरेर फर्किरहेका वाग्ले बाटोमा मृत भेटिनु रहस्यमय’

सर्लाही।  मसाल जुलुस गरेर फर्किरहेका केन्द्रीय सदस्य वाग्ले बाटोमा मृत भेटिनु रहस्यमय स् नेकपा नेकपाको प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य डाचाराज वाग्लेको निधनबारे छानबिन गर्न पार्टीका सर्लाही जिल्ला कमिटीले माग गरेको छ।

घटना रहस्यमय देखिएको भन्दै नेकपा सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तले बिहीबार बिहान विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन्। सर्लाहीकै पार्टी इन्चार्जसमेत रहेका नेता वाग्ले बुधबार राति जिल्लास्थित मूर्तिया जंगलमा शंकापस्द अवस्थामा मृत भेटिएका थिए।

बरहथवाबाट बुधबार अबेर राति हिँडेका उनी बाटोमा पर्ने जंगलमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मोटरसाइकलबाट केही पर लडिरहेका वाग्लेलाई बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ।