काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप भएको छ। प्रचण्ड नेपला समूहले बिहीबार आह्वान गरेको बन्दको प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्य शान्तिमान कार्कीलगायतले उल्लंघन गरेको भन्दै सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शान्तिनगरचोकमा दुई समूहबीच झडप भएको हो ।
ओली समूहका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका ६, २ नम्बर बजारदेखि ढुङ्गेबास जाँदै गर्दा प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज कमलजंग राईलगायतका नेता कार्यकर्ताबीच शान्निगरमा झडप भएको हो। तर, नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष राजन दाहालले झडप नभएको बरु बन्दको अवज्ञा गर्नेहरुलाई संझाई बुझाई गरिएको बताए।
उता झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न ओली समूहले माग गरेको छ।
बन्दका कारण सिन्धुली बजार, विपी राजमार्ग, मदन भण्डारी लोकमार्ग, मध्यपहाडी लोकमार्ग पूर्णरुपमा ठप्प छन्। केहीमात्रमा विद्यालय संचालन भएपनि अधिकांश विद्यालय बन्द गरिएको छ।
थप संभावित झडपलाई मध्यनजर गर्दै सिन्धुली सदरमुकामलगायत राजमार्गमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता श्यामकुमार खत्रीले बताए।