काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य शशी श्रेष्ठले जे मन लाग्यो त्यही गर्न प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको बताएकी छन्। बिहीबारको नेकपाको आम हड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताइन्।
ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनुपर्ने अवस्था आएको भन्दै उनले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउनको लागि आमहड्ताल गरिएको बताइन्।
संविधान अनुरुप मुलुक नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भई द्वन्द्वमा जाने भन्दै उनले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने उनको भनाइ छ।