‘कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’ स्थापना

काठमाडौं। नेपालको आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका विविध पक्षको अध्ययन तथा अनुसन्धान गर्ने हेतुले ’कीर्तिनिधि विष्ट अध्ययन केन्द्र’ स्थापना गरिएको छ। प्रा. डा. सुदर्शनराज तिवारीका अध्यक्षतामा गठित केन्द्रका उपाध्यक्षमा नवीन्द्र राजभण्डारी, कोषाध्यक्षमा कमला पाठक र सदस्य सचिवमा नरेन्द्रराज प्रसाईँ रहेका छन्। त्यस्तै सदस्यमा प्रा. डा. मोहन लोहनी, दिलीप कार्की, दलबहादुर गुरुङ, नानु पन्त र रजनी उपाध्याय रहेका छन्।

केन्द्रले पूर्वप्रधानमन्त्री विष्टका छोरा डा. विनोद विष्टलाई संरक्षकमा मनोनयन गरेको छ। केन्द्रले जनोपयोगी कार्य गर्नाका अतिरिक्त आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यावहारिक विषयमा तालीम र प्रशिक्षण दिने उद्देश्य राखेको छ। नेपाल सरकारका आवधिक योजना र कार्यक्रम आदिको मूल्याङ्कनसमेत गर्नाका साथै नेपालको जलस्रोत व्यवस्थापन र सुरक्षाको अवधारणामा केन्द्रित भई विविध कार्य गर्ने संस्थाको प्रमुख उद्देश्य रहेको केन्द्रका सदस्य सचिव प्रसाईँले बताए।

 

अन्य सम्बन्धित समाचार:  मुखमा रक्सीको बोतल कोचेर एकल महिलामाथि सामुहिक बलात्कार