समृद्धिका लागि नयाँ निर्वाचनको विकल्प खोज्नु हुन्नः टोपबहादुर रायमाझी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने जानकारी दिएका छन्। मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको दाबी गरे।

कुश्मा नगरपालिका–२ खुर्कोटमा बिहीवार आयोजित कालीगण्डकी प्रसारण करिडोरको सबस्टेसन उद्घाटन समारोहमा नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्। उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधीन सबै विद्युत् आयोजनाहरू सम्पन्न भएपछि निर्यात गर्न सकिने बताए। उनले नेपालमा २०  वर्षमा ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी कार्ययोजना बनेको जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपालकै दोस्रो ठूलो कालीगण्डकी प्रशारण करिडोरको खुर्कोट–दाना सम्पन्न भएपछि धौलागिरिवासीमा खुसियाली छाएको दाबी गरे। उनले गण्डकी प्रदेश सरकार विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र सडक पूर्वाधारले समृद्ध बन्ने गरी दिगो योजनाका साथ अघि बढेको बताए।

कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागाईँ, प्रतिनिधि सभाका पूर्व सांसद पदम गिरी लगायतले समृद्धिको कार्यभारसहित अघि बढेको केपी ओली नेतृत्वको सरकारलाई काम गर्न नदिने अवस्था आएपछि संसद् विगठन गर्नुपरेको जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सुरु