दिल्लीमा अभियन्ता ग्रेटाको पुत्ला जलाइयो

नयाँदिल्ली। भारतमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गको पुत्ला दहन गरिएको छ। राजधानी नयाँदिल्लीमा भारतको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै बिहीबार थनबर्गको पुत्ला जलाइएको हो। यसअघि बिहीबारै दिल्ली प्रहरीले थनबर्गविरूद्ध मुद्दा दर्ता गरेको थियो।

भारतमा जारी किसान आन्दोलनलाई भड्काउने गरी ट्वीट गरेको भन्दै दिल्ली प्रहरीको साइबर सेलले उनीविरूद्ध मुद्दा हालेको हो। ग्रेटाले ट्वीट गर्नुअघि पप गायिका रिहानाले भारतमा जारी किसान आन्दोलनसम्बन्धी समाचार ट्वीट गरेकी थिइन्। उनले उक्त ट्वीटमा यसबारे किन कुरा नगरिएको भन्दै प्रश्न गरेकी थिइन्।

उनको एउटा ट्वीटपछि थनबर्गसहित विभिन्न देशका हस्तीहरूले किसान आन्दोलनको कुरा उठाएका थिए। थनबर्गले आफू भारतमा भइरहेको किसान आन्दोलनको समर्थनमा रहेको बताएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक महिने कफ्र्यू घोषणा

भारत सरकारले भने यसलाई देश विरोधी प्रोपागान्डा भएको बताएको छ। बुधबार विदेशमन्त्री एस जयशंकरले ट्वीट गर्दै भारतलाई निशाना बनाउने अभियान कहिल्यै सफल नहुने बताएका थिए।