तारकेश्वरबाहेक काठमाडौंका अरु ठाउँमा बर्ड फ्लूको सङ्क्रमण छैनः पशुसेवा विभाग

काठमाडौं। पशुसेवा विभागले काठमाडौंको तारकेश्वर नगरपालिकाबाहेक अरु ठाउँमा बर्ड फ्लूको सङ्क्रमण नदेखिएको जनाएको छ। विभागले बर्ड फ्लू सङ्क्रमण अरु ठाउँमा नदेखिएकाले मासु खान डराउनु पर्ने अवस्था नरहेको बताएको छ। 

यसअघि माघ १६ गते तारकेश्वरमा बर्ड फ्लू सङ्क्रमण देखिएपछि झण्डै २५ सय पक्षी नष्ट गरिएको थियो। अहिले सङ्क्रमण देखिएको क्षेत्रलाई सिल गरेर विभागले दैनिक निरीक्षण गरिरहेको पशुसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले जानकारी दिए। सङ्क्रमण भेटिएको क्षेत्रमा दैनिक विज्ञसहितको टोलीले अनुगमन गरिरहेको छ।

नियमित रुपमा अनुगमन गर्ने, शङ्कास्पद नमुना परीक्षण गर्ने र अध्ययन गर्नेलगायत कामहरु टोलीले गरिरहेको छ। सङ्क्रमण भेटिएका फार्ममा ४२ दिनसम्म कुखुरा राख्न नपाउने पनि प्रवक्ता ढकालले बताए। 

पीडित व्यवसायीलाई सरकारले २२ लाख रुपैयाँ राहतसमेत उपलब्ध गराउने भएको छ। विभागले विज्ञ केन्द्र र नगरपालिकाहरुसँग सङ्क्रमण फैलिन नदिने सहकार्य गरिरहेको पनि उनले बताए। 

 

अन्य सम्बन्धित समाचार:  मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै, सफाइमा सुधार