कर्णालीका उच्च हिमाली जिल्लामा हिमपात

काठमाडौं। कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। हुम्लासहित उच्च हिमाली जिल्लामा मौसममा आएको बदलीसँगै लामो समयपछि बिहीबार रातिदेखि हिमपात सुरु भएको हो।

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ। हिमपातले जिल्लाको तापक्रम माइनस डिग्रीमा झरेको छ। जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात सुरु भएर बाक्लो हिउँ जमेको छ। जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन्। हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान हर्षित भएका छन्। हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ।

अन्य सम्बन्धित समाचार:  कारागार अध्ययन गर्न छानबिन समिति गठन

उता, सूदुरपश्चिमको बाजुरामा पनि बिहीबार रातिदेखि हिमपात सुरु भएको छ। भारी हिमपातसँगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपातका कारण किसान उत्साहित भएका छन्।