नेपाल आयल निगम दैनिक साढे ६ करोड नोक्सानमा

पाइपलाइन

काठमाडौं। नेपाल आयल निगम दैनिक साढे ६ करोड नोक्सानमा देखिएको छ। निगमले गरेको पछिल्लो प्रक्षेपण अनुसार फेब्रुअरीको सुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट उसलाई ९७ करोड ७५ लाख रुपैयाँ बराबरको नोक्सान हुने देखिएको छ।

पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको घाटाका कारण यस्तो नोक्सान हुने अवस्था देखिएको हो। पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानको अवस्थामा पुगेको हो।

भारतीय आयल कर्पोरेसन ले सोमबार पठाएको मूल्यसूची अनुसार फेब्रुअरी महिनाको पहिलो पाक्षिकका लागि पेट्रोलको प्रतिलिटर ५१ रुपैयाँ ६९ पैसा, डिजेलको ५२ रुपैयाँ ३९ पैसा, मट्टितेलको ४८ रुपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रुपैयाँ ५ पैसा तिर्नुपर्छ। त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १ हजार १ सय २९ रुपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ।

अन्य सम्बन्धित समाचार:  आयोगले अन्याय गरे पनि सर्वोच्चले ढिलै भएपनि न्याय दियो: ऋषिराम कट्टेल

आईओसीले पठाएको मूल्यमा विविध प्रकारका कर, शुल्क, ढुवानी भाडा, ह्रासकट्टि समेत गरी निगमको कुल लागत निगमलाई पेट्रोलमा १ सय १६ रुपैयाँ ८० पैसा पर्न आउँछ।

त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा, आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १ हजार ६ सय ७५ रुपैयाँ ११ पैसा लागत पर्छ।

अहिले बजारमा पेट्रोलियम पदार्थ उपलब्ध पेट्रोलियम पदार्थमध्ये पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मट्टितेल ९३ रुपैयाँ, आन्तरिक हवाई इन्धन ६५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिलिटर ०.८६८ अमेरिकी डलर लिँदै आएको छ । त्यस्तै, खाना पकाउने ग्यासको बिक्री मूल्य १ हजार ३ सय ७५ रुपैयाँ तोकिएको छ।

अन्य सम्बन्धित समाचार:  अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

यो मूल्यमा बिक्री गर्दा निगमलाई प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ ८० पैसा, डिजेलमा ४ रुपैयाँ ६७ पैसा नोक्सान हुँदै आएको छ। मट्टितेलमा निगमलाई प्रतिलिटर १८ रुपैयाँ १० पैसा र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३५ रुपैयाँ ८७ पैसा नाफा हुँदै आएको छ। खाना पकाउने ग्यासमा भने प्रति सिलिन्डर ३ सय १७ रुपैयाँ ११ पैसा नोक्सान हुने निगमले जनाएको छ।