संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सभामुख सर्वाेच्चमा

काठमाडौं। संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा रिट लिएर आफैं सर्वोच्च अदालत पुगेका छन्। संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको जिकिरसहित रिट लिएर सभामुख सापकोटा शुक्रबार बिहान सर्वोच्च अदालत पुगेका हुन्।

सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार रिट लिएर सभामुख आफैं सर्वोच्च अदालत पुगेका हुन्। हामी यहीँ अदालतमा छौं, सभामुख आफैंले रिट दायर गर्न लाग्नुभएको हो, न्यौपानेले भने।

संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक आयोगहरूमा नियुक्तिको सिफारिश गरेको थियो। सिफारिशसम्बन्धी पत्र पुस ५ गते प्रतिनिधि सभा विघटन भएकै दिन संसद् सचिवालयमा पुगेको थियो।

संसदीय सुनुवाइ विशेष समितिको कार्यावधि सकिएकाले संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेको भन्दै सभामुख सापकोटाले सिफारिशसम्बन्धी पत्र जस्ताको तस्तै फिर्ता गरेका थिए।

अन्य सम्बन्धित समाचार:  अर्थमन्त्री पौडेल बोल्दाबोल्दै मञ्चमा आक्रमण, बीचमै छोडेर हिँडे

त्यसपछि पत्र संसद् सचिवालयमा पुगेको ४५ दिन पूरा गरी राष्ट्रपतिले संवैधानिक आयोगहरूमा नियुक्ति गरेकी थिइन्। त्यसको चौतर्फी विरोध भइरहेको छ।
नवनियुक्त पदाधिकारीहरूले बुधवार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालिसकेका छन्।