म्यानमारमा सुकीका प्रमुख सहयोगी पक्राउ

काठमाडौं। म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ परेका छन्। म्यानमारको सेनाले गरेको ‘कू’ को व्यापक विरोध भइरहेको समयमा उनी पक्राउ परेका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनले आफूलाई प्रहरीले नियन्त्रणमा लिँदै यान्गोनबाट न्यपेत लगिएको बताएका छन्। उनले आफूमाथि के मुद्दामा समातिएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैन। उनले भनेका छन्, ‘उनीहरु भलादमी छन्, त्यसैले मैले फोन उठाउन पाएको छु।’

उनले थपेका छन्, ‘हामीलाई लामो समयदेखि निरन्तर नराम्रो व्यवहार गरिँदै आएको छ। म कहिल्यै पनि उनीहरुसँग डराउने छैन किनकी मैले आफ्नो पूरा जीवनकालमा केही पनि गलत गरेको छैन।’

म्यानमारको ठूला सहरहरुमा मानिसहरुले सेनाले गरेको कूको विपक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। बिहीबार सुकीको पार्टी एनएलडीले पनि सेनालाई अवज्ञा गर्दै न्यपेतमा सांकेतिक संसद्को बैठक बसेका थिए। उक्त बैठकमा उनीहरुको बीचमा आगामी दिनमा जनताको सेवा गर्दै अघि बढ्ने सहमति भएको थियो।

अन्य सम्बन्धित समाचार:  साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण