कम्युनिष्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भयोः इश्वर पोखरेल

काठमाडौं। उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन्। शुक्रबार नारायणहिटी दरबारअगाडि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिष्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताएका हुन्।

‘कम्युनिस्ट पार्टीलाई एक बनायौँ लामो समयदेखि जनताले चाहेको राजनीतिक स्थायित्व, सम्बृद्धिको बाटो खुल्छ, संविधानको रक्षा हुन्छ भनेर सोचेपनि त्यो सोचाइका विरुद्धमा जाने तत्त्व भए। जसले सम्मृद्धिको कुरालाई पछाडि पार्न र अराजकता निम्त्याउने प्रयास हुँदैछ। सफल हुन दिदैनौँ,’ पोखरेलको दावी छ।

नेता पोखरेलले कम्युनिस्ट आन्दोलन र देशको समृद्धिलाई असफल बनाउन परिचालित प्रचण्ड प्रवृत्ति र माधव नेपाल प्रवृत्तिलाई सफल हुन नदिने बताए। उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकूलता भएपनि निरन्तर लागि परिरहने बताए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुहको निर्णय संसद सचिवालयका महासचिवले दर्ता गर्न मानेनन्

पोखरेलले ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेको अवस्थामा केही तत्त्वहरु निर्वाचन नगर्न भन्दै निर्वाचन आयोग पुगेर निर्वाचन नगर्न धम्की दिएर अस्थिरता मच्चाउन खोजिरहेको बताए। ‘सम्पूर्ण चिजको फैसला गर्ने जनता भएकाले ताजा जनादेशका लागि जान प्रधानमन्त्रीले ऐतिहासिक घोषणा गर्नुभयो। हामी त्यही अभियानमा लागिरहेका छौँ,’ पोखरेले भने, ‘उहाँहरुले जुन अराजकता निम्त्याउन, आर्थिक विकासमा कमजोर बनाउन कुनै हालतमा सफल हुन दिने छैनौँ।’