धादिङ। नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले पूर्ण बहुमतको सरकार रहँदारहँदै विकास र स्थायी शान्तिको पथमा लम्किँदै गएको देशलाई कामचलाउ प्रधानमन्त्री केपी ओलीले गृह युद्धतर्फ धकेलेको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा नेकपा प्रचण्ड–माधव पक्षले धादिङबेंसीमा शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टराईले उक्त आरोप लगाएका हुन्। उनले ओलीले भिडन्त र युद्ध चाहेको र त्यही इच्छा पूरा गर्नका लागि संविधान मिचेर संसद् विघटन गरेको बताए। उनले भने, ‘हामी शान्ति चाहन्छौ, ओली र तिनका आसेपासे मण्डलेहरू युद्ध र अशान्ति चाहन्छन्, त्यत्रो जनयुद्धलाई समेत शान्तिपूर्ण तरिकाले समापन गरेर अग्रगामी दिशातर्फ हिँडाइरहेको देशलाई गृहयुद्धमा धकेल्न प्रधानमन्त्री उद्यत हुनुभयो।’
संविधानका कुनै पनि धारा उपधारा र दफाले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको भट्टराईले जानकारी दिए। ‘यो कसैको हुकुमी बक्सिसबाट बनाएको संविधान होइन, जनताको रगत र पसिनासँग साटेर बनाएको संविधान हो, कोही कसैलाई सनक चढेकै भरमा संविधान च्यात्न पाइँदैन,’ नेता भट्टराईले भने।