काठमाडौं। कोरोना भाइरसको जोखिमपूर्ण मानिने दोस्रो लहर बढ्ने भन्दै नेपाली कामदार वैदेशिक रोजगारीमा रहेका खाडीका सबैजसो मुलुकहरुमा कडाई गरिएको छ।
कुवेतले आप्रवासी कामदारसहित गैरकुवेती नागरिकलाई आगामी दुई साताका लागि आफ्नो देश प्रवेश गर्न प्रतिवन्ध लगाएको छ। कुवतेले फेब्रुअरी ७ अर्थात सोमबारदेखि लागू हुने गरी दुई सातासम्म विदेशबाट आउने यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ।
यस अगाडि साउदी अरेबियाले विभिन्न २० वटा मुलुकबाट प्रवेश गर्ने यात्रुहरुलाई आफ्नो मुलुक प्रवेशमा अल्पकालीन प्रतिवन्ध लगाइसकेको छ। नेपाल साउदी अरेबिया प्रवेश गर्न नपाउने नकारात्मक सूचीमा हालसम्म समावेश छैन।
कोरोना भाइरसको दोस्रो लहर प्रवेश रोक्न भन्दै शुक्रबारबाट कतारले ३२ बुँदे निर्देशन जारी गरेको छ। त्यसमा सरकारी तथा गैरसरकारी कार्यालयको कार्यस्थलमा ८० प्रतिशतसम्म कामदार कम गर्नुपर्ने लगायतका निर्देशनहरु रहेका छन्।
विवाह समारोहमा पनि २० जनाभन्दा बढीलाई सहभागी हुन प्रतिवन्ध लगाइएको छ। कतारमा जनवरी महिनामा अस्पताल भर्ना भएका कोरोना भाइरसका संक्रमितहरुको आधारमा नयाँ प्रतिवन्ध लगाएको बताइएको छ।
कतारको राष्ट्रिय स्वास्थ्य रणनीति ग्रुपका प्रमुख डा. अब्दुल्लातिफ अल खालले जनवरी महिनामा कतारमा रहेका कुल संक्रमितमध्ये ८५ प्रतिशत बढेको बताए। कतारले सबैलाई मास्क अनिवार्य गरेको छ।
केही ट्राभल एजेन्सीहरुले कतारमा विदेशीलाई प्रवेश रोकिएको भन्दै बुकिङ भएका होटलको क्यान्सिलेसन बिना चार्ज रकम फिर्ता गर्ने बताएका छन्।