सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर: मन्त्री तुम्बाहाङ्फे

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले सुकुम्बासीहरूको हातमा पूर्जा दिन सरकार आतुर रहेको बताएका छन्।

शनिबार काठमाडौंमा भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरूका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरूको हातमा पूर्जा दिनका लागि आतुर रहेको बताए।

सरकारको आतुरतालाई व्यवहारमा उतार्न आयोगका पदाधिकारीहरूले पहलकदमी लिनुपर्ने उनको भनाइ छ। सुकुम्बासीहरूको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्न सक्ने भएकाले आयोगका पदाधिकारीहरूले नियमन गर्न पनि उनले निर्देशन दिए।

गलत मानिसको हातमा पूर्जा दिलाउन विभिन्न समूह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी आयोगले लिनुपर्नेमा मन्त्री तुम्बाहाङ्फेको जोड छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली बिहीवार सिन्धुली जाँदै

आयोगका पदाधिकारीहरूले स्थानीय तहले गरेका कामको नियमन गर्नु पर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उनले निर्देशन दिए।