बैतडीमा किशोरीको ‘बलात्कारपछि हत्या’ प्रकरणः परिवारले शव बुझेन

बैतडी। बैतडीको दोगडा–केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि गाउँपालिका नै चिन्तित् भएको छ। बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय जङ्गलमा उनको शव फेला परेको थियो।

भागरथी बीभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशंका आफन्तले गरेका छन्। कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले जानकारी दिएका छन् । 

परिवारले शव बुझेको छैन । शव परीक्षण गरिएको भए पनि अपराधी पत्ता नलागेकाले शव बुझेको जनाइएको छ। मृतकको शव परीक्षणको रिपोर्ट एक–दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। घटना शंकास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार र बिहीबार कुन–कुन सवारीसाधन सञ्चालन भएका थिए, ती सवारीसाधनमा आवतजावत गर्ने व्यक्तिलाई पनि सोधपुछ भइरहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मोती बमले जानकारी दिए । ‘किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीलाई पनि सोधपुछ गरिरहेका छौँ,’ इन्चार्ज मोती बमले भने । 

घटनालाई गम्भीर रूपमा लिएकाले अनुसन्धान पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली पनि परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो । यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मृतकले प्रयोग गरेको मोबाइल पनि भेटिएकाले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ ।

अन्य सम्बन्धित समाचार:  ग्रेडरको ठक्करबाट कैलालीमा १ जनाको मृत्यु