सुपरस्टार रोनाल्डोको गोलमा युभेन्टसको विजयी

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको गोल मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा जित हासिल गरेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टस इटालियनले रोमालाई २–० ले पराजित गरेको हो।

उक्त खेलमा युभेन्टसले एक गोल उपहार पाएको थियो। एलिएन्ज एरिना टुरिनमा युभेन्टसको खेलको १३औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो। उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए। खेलको ६९औं मिनेटमा रोजर इवानेजले आत्मघाती गोल गरेपछि युभेन्टस सहज जिततर्फ अघि बढेको थियो।

जुआन कोर्डाडोबाट डिजान कुलुसेभ्स्कीले गरेको क्रसलाई क्लियर गर्ने क्रममा इवानेजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–० ले विजयी हुन सफल भएको हो।

यो जितसँगै युभेन्टस २० खेलबाट ४२ अंक जोडेर रोमालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ५ अंकले तथा इन्टर मिलानसँग ४ अंकले पछि छ।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः मध्यपुरको दोस्रो जित