अदालतको निर्णय कुर्न तिमल्सिनाको आग्रह

बेनी। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषयमा धैर्यताका साथ अदालतको फैसला कुर्न आग्रह गरेका छन्। बेनीमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २७ औँ साधारणसभा तथा ११ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

तिमल्सिनाले भने ‘आन्दोलनको उपलब्धिलाई जनताको पक्षमा प्रयोग गर्ने बेलामा आफै झगडा गरेर जनमतलाई कुठाराघात भएको छ। शान्त भएर अदालतको निर्णय कुर्नुको विकल्प छैन।’  राजनीतिक स्थिरता, सुशासन र विकासका लागि एउटा पार्टीलाई जनताले पाँच वर्षको सरकार चलाउन बहुमत दिएको जनाउदै उनले नेकपाको आन्तरिक कारणले प्रतिनिधिसभा विघटन हुने अवस्था आएको भन्दै दुख व्यक्त गरेका छन्। 

‘देशलाई फेरि स्थिरताको दिशा तिर लैजान दलहरू लाग्नैपर्छ। दलको विकल्प अरु हुनै सक्दैन,’ उनले भने ‘राजतन्त्र फर्कने, हिन्दु राष्ट्र घोषणा हुने सम्भावना छैन्। त्यो एकजनाले घोषणा गरेर हुँदैन्।’ साथै अदालतले आफू अनुकुलको निर्णय गर्दा ठिक र नगरे बेठिक भन्न नमिल्ने अध्यक्ष तिमल्सिनाले जानकारी दिए । संसद विघटन सदर गरे सबै चुनाव तिर होमिनुपर्ने उनको भनाइ छ। सरकारले घोषणा गरेको चुनाव हुन्छ कि हुँदैन भनेर दोधारमा नपरी वातावरण बनाउन  उनले आग्रह  गरे। 

अन्य सम्बन्धित समाचार:  संसद्मा नेकपाका दुवै पक्षलाई एउटै लाइनमा बस्ने व्यवस्था