काठमाडाैं। नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ। याेसँगै दोस्रो बजारका लगानीकर्ताहरु उत्साहित भएका छन्। साताको पहिलो कारोबार आईतबार नेप्से परिसूचक ४८.७४ अंक अर्थात १.९७ प्रतिशत बढेर २५२४ विन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु हो। यस अघि नेप्से गत बिहीबार अर्थात माघ २२ गते २४७५.२६ विन्दुमा रहेको थियो।
आज सेन्सेटिभ इण्डेक्स ५.३ अंक, फ्लोट इण्डेक्स ३.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक बढेको छ। २०२ कम्पनीको ८७ हजार ६७० पटकको कारोबारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर खरिदबिक्री भएको छ।
यो हालसम्मकै उच्च भोल्युम हो। यस अघि गत माघ १५ गते ९ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो
नेप्से सूचकले नयाँ उचाइ कायम गर्दा लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ७.७६ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा, निर्जीवन बीमा र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने यस दिन क्रमशः ०.२२, ०.०१ र ०.३१ प्रतिशत घटेको छ।