भ्यालेन्टाइन डेका लागि भारतबाट १ करोडको गुलाफको फूल आयात

काठमाडौं। भ्यालेन्टाइन डेका लागि भारतबाट करिब १ करोड रूपैयाँको गुलाफको फूल आयात भएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्ष करिब १ लाख ८० हजार स्टिम गुलाफ फूलको माग छ।

नेपाली बजारमा बिक्री हुने १ लाख ८० हजार स्टिममध्ये विदेशबाट करिब १ लाख ४० हजार ल्याइने र नेपालमा ४० हजार स्टिम मात्रै उत्पादन हुने एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए।

कोरोना जोखिमका कारण यस वर्षको भ्यालेन्टाइन डेमा अघिल्लो वर्षको अनुपातमा कम बिक्री हुने श्रेष्ठले बताए।

गुलाफको फूलको मूल्य प्रतिस्टिम ८० देखि १ सय रूपैयाँसम्म छ। गत साल करिब १ करोड रूपैयाँ बराबरको कारोबार हुँदा २ लाख स्टिम गुलाफ खपत भएको थियो। अघिल्लो वर्ष गुलाफको फूलको मूल्य प्रतिगोटा ६० देखि १ सय रूपैयाँसम्ममा कारोबार भएको एसोसियसनले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र पाइने

नेपाल आयात भएको गुलाफको फूलको खपत ६० प्रतिशत उपत्यका, २० प्रतिशत पोखरा र २० प्रतिशत अन्य शहरबजारमा हुने गरेको छ। व्यवसायीले प्रतिगोटा ३० देखि ३५ रूपैयाँमा ल्याउने गरेका छन्। उपभोक्ताले ५० देखि १ सय रूपैयाँसम्ममा खरिद गर्छन्। उक्त गुलाफ प्रणय दिवसको दिन प्रतिगोटा १ सय २० रूपैयाँसम्म बिक्री हुने गरेको छ।