काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन्। आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताए।
तालिमप्राप्त पत्रकार नहुँदा विकृति, विसंगति जन्मिएको भन्दै उनले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुने बताए।
आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्रि हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उनको भनाई छ। उनले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने बताए।
मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताए। उनले अनलाइन नविकरणका लागि जिल्ला हुलाक कार्यालबाट हुनेगरी नीतिगत निर्णय गरिएको भएपनि हुलाकका कर्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताए।
पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उनको भनाई छ। पत्रकारका समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने उनको भनाई छ।