कोभिड खोप: पत्रकार, दुतावास र युएनका कर्मचारीलाई भाेलिदेखि दिईने

काठमाडौं। सरकारले सोमबारदेखि दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान शुरू गर्ने भएको छ। दोस्रो चरणमा पत्रकार, दुतावास, युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाइने जनाईएकाे छ।

संचारमन्त्री पार्वत गुरुङले बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको जनाएका छन्। सरकारले १३ हजारभन्दा बढी पत्रकारलाई खोप लगाउने तयारी गरेको छ।

सूचना विभागको प्रेसपासको आधारमा सरकारले खोप लगाउने पत्रकारको विवरण तयार पारेको हो। राजधानीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पत्रकारलाई लगाउने खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिने बताए।

मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारका लागि राहतको व्यवस्था गर्न सरकारले तयारी गरिरहेको समेत बताए। शनिबार सकिएको खोप अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप लगाएका थिए। पहिलो चरणमा १ लाख ८१ हजार ८५७ जनाले खोप लगाए।

अन्य सम्बन्धित समाचार:  अध्यादेश फेल गर्ने हिम्मत छ कसैको?: प्रधानमन्त्री ओली

सिभिल अस्पतालमा पत्रकार र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने भएको छ। शिक्षण अस्पताल र शहीद गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइने भएको छ। शुक्रबारसम्म दोस्रो चरणको खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।