काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले पुर्याएको योगदानको चर्चा गर्दा नेपाल जोगाउनेहरूको योगदानलाई भुल्नु अन्याय हुने बताएका छन्।
उनले कालु पाँडेदेखि विशे नगर्चीसम्मले देशको रक्षामा कुनै न कुनै भूमिका खेलेको स्मरण गराए। आईतबार नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनारमा ओलीले भने, ‘कसैका सन्तान-दरसन्तानको गुणगान गाउने, कसैको लेखाजोखा नहुने, त्यसरी इन्साफ हुँदैन। बिनाभेदभाव महान पूर्वजहरुको स्मरण गर्नुपर्छ। बिसे नगर्चीसमेत धन्यवादका पात्र छन्। यसरी लड्नुपर्छ भनेर पृथ्वीनारायण शाहलाई बुद्धि दिने बुढी आमैलाई पनि धन्यवाद छ।’
अमरसिंह थापाले ७४ वर्षमा तरवार लिएर मैदानमा लडेको स्मरण गराँउदै ओलीले महान योद्धा भिमसेन थापालाई हिरासतमा कायरतापूर्वक षडयन्त्र गरेर मारिएको टिप्पणी गरे।
ओलीले भने, ‘हाम्रो इतिहासका महान देशभक्त हुन् भिमसेन थापा। उनी मात्र होइन, उनका छोरा नातिले पनि योगदान दिएका छन्। उजिरसिंहले बुटवलमा किल्ला सम्हालेर अंग्रेजलाई नलखेटेको भए नेपाल जोगाउन गाह्रो हुन्थ्यो। बुटबलमा हारेको भए भिमसेन थापाले सम्हालेको मोर्चा पाल्पामा आक्रमण हुन्थ्यो। पाल्पा टिकाउन गाह्रो हुन्थ्यो।’
उनले थपे, ‘त्यसैले, पृथ्वीनारायण शाह मात्र होइन, अमरसिंह, वलभद्र, भिमसेन, भक्ति थापा लगायतका सेनापतिहरु पनि उत्तिकै स्मरणीय छन्। कालु पाँडे, दामोदर पाँडेहरु सेनापति भएर पनि तरवार बोकेर आफैं लडाईंका मोर्चामा थिए। उनीहरू आदेश दिने पोजिसनमा थिए। तर, सैनिकहरुलाई आदेश दिएर लडाईमा पठाउने अनि आफू घर बस्ने गरेनन् ‘आउ सेना’ हो भने, ‘जाउ सेना’ भनेनन्।