एकीकृत राज्यलाई मेलमिलाप र एकताबाट बचाउन परेको छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वीर पुर्खाको ठूलो योगदान र बलिदानीबाट निर्माण भएको नेपाल राष्ट्रलाई मेलमिलाप र एकताका माध्यमबाट अघि बढाउनुपर्ने आवश्यकता ओँल्याएका छन्।

नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोेजित एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत् गोष्ठी समापनका अवसरमा उनले मुलुकको मौलिक पहिचान विविधतामा एकता कामय गरी अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने, “एकीकरण एक दिनको मात्र काम होइन, यो अनवरत काम हो, हिजो एकीकरण लडाइँबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाइँबाट बचाउनुपरेको थियो, आज एकीकृत राज्यलाई नेपालीको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ ।”

पहिचानका नाममा कतिपयबाट राजनीतिलाई अनुचित ढङ्गले उछाल्ने र भड्काउने काम भइरहेको बताउँदै उनले राष्ट्रनिर्माण र बचेको इतिहास स्वाभिमान बुझेर वीरपुर्खाको कदर गरिनुपर्छ भने।

अन्य सम्बन्धित समाचार:  ओलीसँग एकता हुँदैनः माधव नेपाल

पहिचान, इतिहास, परम्परा र बहादुर पुर्खाले लडेर बचाएको नेपालको नक्साले गौरवपूर्ण इतिहास बोकेको बताउँदै प्रधानमन्त्री ओलीले भने,“नेपालको एकीकरणको अभियानमा योगदान पुर्याउने पुर्खाको वीरगाथालाई सम्मान छ, सलाम भन्न चाहन्छु । हाम्रा पूर्वजको योगदान र बलिदान आउँदो पुस्ताले नबिर्सियोस् ।”