नेकपा विवाद सल्टाउने जिम्मेवारी विवादास्पद नियुक्ति पाएका आयुक्तलाई

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ।

निर्वाचन आयोगले नवनियुक्त आयुक्त भण्डारीले जिम्मेवारी दिएलगत्तै राजनीतिक रूपमा विभाजित नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन्। अध्ययनका लागि आयोगले आयुक्त भण्डारीलाई तीन दिनको समय दिएको छ।

दुई आयुक्त थपिएपछि आयोगले शुक्रबार जिम्मेवारी बाँडफाँड गरेको थियो। त्यसैअनुसार कानुनी पृष्ठभूमिका भण्डारीलाई दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी दिइएको हो।

भण्डारीसँगै डा. जानकीकुमारी तुलाधरले बुधबार शपथ लिएकी थिइन्। भण्डारी र तुलाधर आयुक्त हुनुपूर्व आयोगमा दिनेश थपलिया प्रमुख आयुक्त तथा नरेन्द्र दाहाल र ईश्वरी पौड्याल आयुक्त थिए।

नेकपा विवाद चाँडो नसल्ट्याए वैशाखका लागि तोकिएको निर्वाचन सम्भव नहुने पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले बताउँदै आएका छन् । नेकपा विवाद टुंग्याउन कम्तीमा ४५ दिन लाग्ने अनुमान गरिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

निर्वाचन आयोगले नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिकताका लागि पेस गरेको दाबीउपर अध्ययन अघि बढाएको छ। नवनियुक्त आयुक्त भण्डारीले अध्ययन प्रतिवेदन बुझाएपछि विवाद कसरी टुंग्याउने भन्ने विषयमा आयोगले निर्णय गर्ने भएको छ।