चामलको मूल्य बढ्यो

वीरगञ्ज। कोरोना महामारीका कारण धानको उत्पादनमा परेको असरको प्रभाव चामलको मूल्यमा देखिएको छ। धानको उत्पादन र गुणस्तर दुवै घटेपछि चामलको मूल्यमा चाप परेको उद्यमीहरूले बताएका छन्।

खाद्यान्न उत्पादन र आपूर्तिको मुख्य केन्द्र मानिएको बारा र पर्साका उद्योगीले चामलको उत्पादन लागत ह्वात्तै बढेको बताए। नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार कोरोनाले धान उत्पादनमा परेको प्रभाव चामल उत्पादनमा देखा परेको छ।

नेपालमा खाद्य संस्थाले धान खरीद गरेकाले पनि मूल्य बढेको उद्यमीहरूको भनाइ छ। संस्थानले प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँमा धान किनेको छ।

उद्योगीले यो वर्ष अहिले नै सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय रुपैयाँसम्म तिरेर आयात गरेका छन्। गोरखनाथ धान २ हजार ८५० र जीरा बासमती ३ हजार ५० रुपैयाँ प्रतिक्वीन्टलमा खरीद भइरहेको उद्योगीहरूले बताए।