सरकारको पुनर्कर्जा नपाएको होटल व्यवसायीको गुनासो

पोखरा। सरकारले पुनर्कर्जा कोष मार्फत दिने भनेको कर्जा हालसम्म पाउन नसकेको गुनासो पोखराका होटल व्यवसायीले गरेका छन्।सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनर्कर्जा कोषको व्यवस्था गरेको थियो।

कोभिड सङ्क्रमणले होटल तथा पर्यटन व्यवसायमा देखापरेका समस्यामा केन्द्रित भएर पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको बृहत् छलफल कार्यक्रममा व्यवसायीले त्यस्तो गुनासो गरेका हुन्।

नेपाल राष्ट्र बैंकले विभिन्न बैंकमार्फत सहुलियत दरको पुनर्कर्जा व्यवसायीलाई प्रदान गर्ने घोषणा गरे पनि व्यवहारमा उक्त कर्जा नपाएको कार्यक्रमका सहभागीको भनाइ थियो।

कोभिडसँगै होटल व्यवसाय र पर्यटन क्षेत्र ठूलो मारमा परेको अवस्थामा सदस्य तथा पदाधिकारी व्यवसायीबीच एकअर्कालाई परेका समस्या आदानप्रदान गर्ने र तिनलाई समाधान गर्न पहल गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

नेपाल सरकारद्वारा व्यवसायीलाई राहत प्रदान गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने पुनर्कर्जा, कर्जाको पुनर्तालिकीकरण र सहुलियत कर्जा प्राप्त गरे नगरेको तथा गण्डकी प्रदेश सरकारद्वारा ल्याइएको व्यवसाय जीवन रक्षा (कोष) कर्जा सम्बन्धमा छलफल गरिएको थियो।

यसैगरी विद्युत् माग (डिमाण्ड) शुल्क तथा महशुल एवं विभिन्न अन्य कर सम्बन्धमा पनि व्यवसायीले छलफल गरेका थिए। होटल सङ्घ नेपालका सदस्य एवं पश्चिमाञ्चल होटल सङ्घ पोखराका सल्लाहकार विप्लव पौडेलले सहज ढङ्गले व्यवसायीले पुनरकर्जा पाउन नसक्नु दुःखद् भएको बताए।

सहभागीले कोभिडको असर अझै कम्तीमा तीन वर्ष पर्यटनमा पर्ने भन्दै दीर्घकालीन योजनाका साथ अगाडि बढ्न जरुरी भएको सुझाव राखेका थिए।