लुम्बिनीमा लक्ष्यभन्दा कम कोरोनाको खोप

बुटवल। लुम्बिनी प्रदेश सरकार लक्ष्य अनुसार कोरोना भाइरसविरुद्धको खोप लगाउन असफल भएको छ। लुम्बिनी प्रदेश सरकारले पहिलो चरणमा ३५ हजार ४९५ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेको थियो।

तर, माघ २४ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा गरी २८ हजार ९५१ जनामा कोरोना विरुद्धको खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

भारतबाट आएको १० लाखमध्ये ३९ हजार ४९५ जनाको लागि ८७ हजार ६७९ डोज खोप लुम्बिनी प्रदेशमा ल्याइएको थियो। सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार २९ हजार ४० डोज मात्रै खर्च भएको छ।

पहिलो चरणका लागि आएको ५८ हजार ६ सय ६३ डोज खोप भने अझै बाँकी छ। शुरुवातदेखि नै लुम्बिनीमा खोप वितरण तथा खोप अभियानका कार्यक्रमको गति सुस्त भएको थियो।

संघीय स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले समाजिक विकास मन्त्रालयका कर्मचारीलाई समेत खोप अभियानको गति सुस्त भएको भन्दै निर्देशन दिएका थिए।

खोप ऐच्छिक गरिएकाले तोकिएको लक्ष्यभन्दा कममा खोप लगाइएको सरकारको दाबी छ।