आगलागीबाट जुम्लामा एक हजार स्याउका बिरुवा जलेर नष्ट

आगलागी

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका-१ मा रहेकाे तरापी लेकमा आगलागीबाट झण्डै १ हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन्। उक्त वडाका चार स्थानीय बासिन्दाले लगाएका झण्डै एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए।

बगैँचामा रहेको घाँसमा आगाे लागेपछि काँटछाँट र व्यवस्थापन गरिएका स्याउका बिरुवा पनि डढेर नष्ट भएको वडाध्यक्ष प्रेमबहादुर कठायतले बताए। स्याउका बिरुवासँगै बस्तुभाउलाई खुवाउन जम्मा गरिएको घाँस र एउटा गोठसमेत जलेको छ।

अनेक कष्ट गरी हुर्काएर फल्न थालेका स्याउका बिरुवा आगोले खाएको र अहिलेसम्मको सबै मेहनत खेर गएको किसाल तुल धरालाले बताए।

लेकमा चिसो बढेपछि गाउँ झरेका किसानको बगैँचा एकाएक आगोले सखाप पारेपछि यहाँका किसान चिन्तित भएका छन्। तीन घण्टा पानी बोकेर सिँचाइ गरी हुर्काएको बगैँचा नष्ट भएपछि आफूहरु चिन्तित भएको धरलाले दुखेसो पोखे। किसानले स्याउबाटै जीवन फेरिने आशा गरेका थिए।

अन्य सम्बन्धित समाचार:  ५६ वर्ष अगाडिको मुद्दामा ७० वर्षीय वृद्ध जेल

गाउँपालिका अध्यक्ष न्यौपानेले आगलागीबारे अनुसन्धान भइरहेको र छिट्टै कार्यपालिकाको बैठकबाट निर्णय गरी राहत उपलब्ध गराउने जानकारी दिए।