धनुषा। प्रदेश २ मा निर्देशिका विपरीतका व्यक्तिहरुले पनि कोरोना विरूद्धको खोप लगाएका छन्। पहिलो चरणमा २५ हजारभन्दा बढी व्यक्तिले खोप लगाएकामा पहुँचवाला शिक्षक र व्यवसायी पनि परेका छन्।
भारतले उपलब्ध गराएको कोरोना विरूद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणमा फ्रन्टलाइनमा खटिएकाहरूलाई लगाउने निर्देशिका जारी गरिए पनि सो निर्देशिकाविपरीत कोरोना खोपको दुरूपयोेग भएको पाइएको हो।
प्रदेश २ मा कतिपय स्वास्थ्यकर्मीहरू कोरोना विरूद्धको खोप लगाउन नसके पनि व्यापारीहरू, शिक्षकहरू अर्थात् फ्रन्टलाइनमा रहने बाहेकका व्यक्तिहरूले लगाएको देखिएको हो।
जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालको खोप केन्द्रमा सुनचाँदी व्यवसायी पवन ठाकुर र बलराम साहले खोप लगाएका छन्। व्यापारीद्वयले खोप लगाएको फोटो नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।
त्यस्तै महोत्तरीको बर्दिवास अस्पतालको खोप केन्द्रमा समेत मापदण्ड बाहिरका व्यक्तिहरूले खोप लगाएको पाइएको छ।
बर्दिवास अस्पतालको खोप केन्द्रमा श्री त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक धर्मेन्द्र महतोले समेत कोरोना खोप लगाएको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए।
यसअघि प्रदेश २ मा पहिलो खोप कार्यक्रम सुरू हुनै लाग्दा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले निर्देशिकाविपरीत खोप लगाएका थिए।