प्रधानमन्त्री ज्यू, “हुम्लामा कर्णाली नदी तर्न तुइनकै भर पर्नुपर्छ”

हुम्ला। सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ।

वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका-२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो।

पुल नहुँदा बर्सेनि तुइन तर्नु परिरहेको सर्केगाड-२ रिपगाउँका स्थानीयवासी जुनदेवी फडेराले बताइन्। हिउँदयाममा नदीको बहाव कम भएका कारण तुइन तर्न कम जोखिम भए पनि बर्खायाममा भने त्रासका बीच तुइन तर्नु परिरहेको फडेराले गुनासो गरिन्।

उक्त गाउँका २०० घरधुरीका बासिन्दा दाउरा, घाँसका लागि दैनिकरूपमा तुइन तर्ने गरेका छन्। घाँस र दाउरा पनि तुइनमै तार्नुपर्ने भएका कारण धेरै भारी नदीमा खसेको फडेराको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

यस्तै खार्पुनाथ गाउँपालिका-४ मा रहेको कर्णाली नदीमा समेत तुइनकै भर पर्नु अवस्था छ।  गाउँपालिकामा काम पर्दा तुइन तरेर जानुपर्ने बाध्यता नहटेको खार्पुनाथ-४ छिप्रागाउँका स्थानीयवासी बबरजङ्ग हमालले बताए।

कहिले बन्ला झोलुङ्गे पुल ?

उक्त स्थानमा झोलुङ्गे पुल बनाउने योजना भए पनि निर्माण कम्पनीले हालसम्म नबनाएका कारण स्थानीयवासीलाई तुइनकै भर पर्नुपर्ने बाध्यता रहेको हमालले बताए।

तुइन तर्दा धेरै स्थानीयवासीका हातमा चोट लागेको भन्दै केही महिना अगाडि एक जना स्थानीयवासी तुइनबाट खसेर घाइते भएको उनले बताए। खार्पुनाथ शिवालयबाट गाउँपालिका केन्द्रमा जाँदा बाटो लामो पर्ने भएका कारण स्थानीयवासी सबै तुइन नै तर्ने गर्छन्।

त्यसैगरी खार्पुनाथ-२ बोक्चेगौंडा क्षेत्रमा पनि तुइनबाटै स्थानीयवासी आवतजावत गर्ने गरेको बटुवा हिक्मत शाहीले बताए। पुलको योजना परे पनि निर्माण नहुँदा यसै आर्थिक वर्ष गाउँपालिकाले कर्णाली नदी वारपार गर्न दुई स्थानमा सिमेन्टको पिलरसहितको तुइन निर्माण गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए।

अन्य सम्बन्धित समाचार:  औद्योगिक पार्क शिलान्यास गर्न झापा गए प्रधानमन्त्री ओली

स्थानीयवासीको ज्यान जोखिममा पर्ने भएका कारण तुइन निर्माण गर्नुपरेको बताए । सरकारले तुइन विस्थापन गर्ने भनेको भए पनि हुम्ला जिल्लाभरि कर्णाली नदीमाथि आधा दर्जन तुइन निर्माण भएका छन्।

प्रधानमन्त्रीकाे त्याे भाषण‍‍‍‍

माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अन्तरालमा देशमा विकास निर्माणका दर्जनौं काम भएका भनेर दरबार मार्गमा गर्वका साथ भाषण गरे। उनले उक्त भाषणमा मुलुकमा तुइन विस्थापन गरेको बताइरहँदा हुम्लामा नदी तर्न जोखिमयुक्त तुइन तर्नु पर्ने बाध्यता रहेको समाचार राससले प्रकाशन गरेको छ।