वर्षाको प्रश्नः के निर्मला र सम्झना जस्तै भागीरथीले पनि न्याय पाउँदिनन्?

काठमाडौं। नायिका वर्षा सिवाकोटीले बलात्कारपछि हत्या गरिएको निर्मला पन्त र सम्झना बिक जस्तै भागीरथी भट्टले पनि न्याय नपाउने नै हुन् त भनेर प्रश्न गरेकी छिन्। वैतडीकी भागीरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला सिंगो देश नै स्तब्ध रहेको बेला नायिका सिवाकोटीले नारीलाई भगवान् मानेर पुज्ने देशमा किन नारी नै सुरक्षित छैनन् भनेर प्रश्न उठाएकी छन्।

‘के यति असक्षम छ हाम्रो न्यायपालिका? के यति कमजोर छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधीको पहिचान गरी सजायँ दिन नसक्ने? के गरिबका लागि न्याय महंगो भैसक्यो?’ उनले लेखेकी छन्।

नायिका सिवाकोटीले विभिन्न राजनीतिक दलले गर्ने जुलुस तथा सभामा न्यायको खोजी हुने हो भने अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि भनेर पनि प्रश्न गरेकी छन्। उनी लेख्छिन्–‘हाम्रो माग के हुनुपर्ने हो ? नारा के हुनुपर्ने हो? आफै विचार गरौं। अपराधीको मनोबल अझै बलियो बन्दै छ। पीडित अझै पीडामै छन्। जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भैसक्यो । देश झन् झन् अस्थिरतातर्फ जाँदैछ। कुर्सीको लडाई छाड, सत्यको लागि लड, जीत तिम्रै हुनेछ।’

उनले, न्याय दिनका लागि ढिला नहोस् भनेर सरकारलाई सचेत समेत गराएकी छन्।