बुटवलमा एकसाथ दुई केबलकार निर्माण सुरु

बुटवल। बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ। ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ।

लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार निर्माण गर्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने केबलकारको शनिबार शिलान्यास गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ। सिद्धबाबा केबलकार प्रालिले भने गत सातादेखि नै निर्माणको काम सुरु गरिसकेको छ।

सिद्धबाबा केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले सबै प्रक्रिया पूरा गरी निर्माणको काम सुरु भइसकेको जानकारी दिए। बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा बेस स्टेसन र पाल्पाको नुवाकोटगढीमा अन्तिम स्टेसन रहने जानकारी उनले दिए।

सिद्धबाबा केबलकारको लम्बाइ एक किलोमिटर ९५ मिटर रहेको र लागत ८० करोड रुपियाँ आकलन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए। यो समूहले नुवाकोटमा अत्याधुनिक रिसोर्ट निर्माण गरिरहेको छ।