ओली समूहको आमसभामा झण्डा सजाउन स्कुले बालबालिकाको प्रयोग

बुटवल। नेकपा ओली समूहले बुटवलको सिद्देश्वरी मावि प्राङ्गणमा गर्न लागेको आमसभामा झण्डा सजावटमा स्कुले बालबालिकाको प्रयोग भएको छ।

स्कूल प्राङ्गणमा आयोजित आमसभाका लागि झण्डा टाँग्न र सजावट गर्न शुक्रबार एक झण्डै दर्जन बालबालिकाहरु प्रयोग भएका हुन्।

उनीहरुले झण्डा सजावटको काम गरिरहँदा आमसभा आयोजक समूहले रोकेको देखिंदैन। कलिला बालबालिकालाई यसरी राजनीतिक कार्यक्रममा सहभागी गराइनु बाल अधिकारको हनन् मानिन्छ।

कलिला बालबालिकालाई राजनीतिक कार्यक्रममा झण्डा प्रयोग गराउँदा भविष्यमा नराम्रो असर पुर्याउने सरोकारवालाहरुले बताएका छन्।

ओली समूहको कार्यक्रम केहिबेरपछि शुरु हुँदैछ। आमसभालाइ प्रधानमन्त्री केपी शर्मा ओली सहित पार्टीका महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने तयारी छ।

अन्य सम्बन्धित समाचार:  म अन्यायमा परेँ, न्यायको झण्डा बोकिदिनूस्ः प्रचण्ड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने जानकारी दिए। आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने मुख्यमन्त्री पोखरेलको दाबी छ।

बुटवलको सिद्धेश्वरी मैदानमा हुने आमसभाको सबै तयारी पूरा भएको नेकपा ओली समूहका लुम्बिनी प्रदेश संयोजक तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिइन्।

पूर्व लुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको छ। आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट र्याली निकालिने छ।