जुनियर प्रिमियम टेनिस प्रतियोगिता शुरु

काठमाडौं। प्रथम टिम टेनिस नेपाल जुनियर प्रिमियम टेनिस प्रतियोगिता आजदेखि शुरु भएको छ। टिम टेनिस नेपालको आयोजनामा शुरु भएको उक्त प्रतियोगिताको धापाखेलमा एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री दावा लामा तामाङले उद्घाटन गरे। प्रतियोगितामा १२९ खेलाडीको सहभागिता रहेको छ। उनीहरूले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरिरहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत आज यु–८ एकल ब्वाइजतर्फ निश्चल ज्ञवाली तथा गल्र्सतर्फ निश्वी गोर्खालीले स्वर्ण पदक जितेका छन्। फाइनलमा ज्ञवालीले शुभन केसीलाई १०–५ र १०–२ अङ्कले तथा गोर्खालीले आयुश्री घलेलाई ८–१०, १०–३ र १०–८ अङ्कले पराजित गरे। प्रतियोगिता शुरु हुनुअघि मन्त्री तामाङले प्रतियोगिता आयोजक टिम टेनिस नेपालले धापाखेलमा निर्माण गरेको कोर्टको समेत उद्घाटन गरेका थिए।

अन्य सम्बन्धित समाचार:  आइपीएल स्थगित गर्ने निर्णय

जुनियर टेनिस खेलाडीका अभिभावकहरू मिलेर रु दुई करोड ५० लाखको लागतमा सो कोर्ट निर्माण गरिएको टिम टेनिस नेपालका निर्देशक विष्णुबहादुर थापाले जानकारी दिए। नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण उपलब्ध गराउने उद्देश्यका साथ कोर्ट निर्माण गरिएको उहाँले बताए। करीब साढे छ रोपनी क्षेत्रफलमा ६ वटा कोर्ट निर्माण गरिएका छन्। तीनवटा डबल्स कोर्ट, एक–एकवटा रेड तथा एउटा ओरेन्ज बल कोर्ट निर्माण गरिएका छन्। उक्त कोर्टमा यु–८ देखि २० वर्षसम्म उमेर समूहका खेलाडी तथा भेट्रान खेलाडीका लागिसमेत प्रशिक्षणको व्यवस्था मिलाइएको थापाले बताउनुभयो । हाल त्यहाँ ३२ खेलाडी प्रशिक्षणरत छन्। विदेशी र नेपाली प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण दिँदै आउनुभएको छ ।