म्यान्मारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ, इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं। म्यान्मारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरिएका छन्। स्थानीय समय १ बजेपछि त्यहाँ इन्टरनेट सेवा पनि अवरुद्ध गरिएको छ। त्यहाँको सैनिक सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल यसअघि नै बन्द गराइसकेको छ। म्यान्मार सेनाले यही फेब्रुअरी १ देखि नेत्री आङ सान सुची, राष्ट्रपति, मन्त्रीहरूसहित सबै प्रजातान्त्रिक नेतालाई नजरबन्दमा राखेर सत्ता हातमा लिएको हो। जसको विरोधमा लगातार भइरहको जनप्रदर्शन रोक्न सडकमा सैनिक तैनाथ गरिएको अनुमान गरिएको छ।

सैन्य कुविरुद्ध म्यान्मारका नागरिकले देशको उत्तरस्थित काचिनमा लगातार ९ दिनदेखि प्रदर्शन गरिरहेका छन्। यहाँ सुरक्षाकर्मीले प्रदर्शनकारीलाई गोली पनि चलाएको जनाइएको छ। म्यान्मारका सेनाले जनताविरुद्ध युद्ध घोषणा गरेको आरोप संयुक्त राष्ट्र संघका एक अधिकारीले लगाएका छन्। म्यान्मारका लागि राष्ट्र संघका विशेष अधिकारी टम एन्ड्र्युजले म्यान्मारका सेना प्रमुखले हतास मानसिकता देखाएको टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस्तो लागिरहेको छ, म्यान्मारको सेनाले जनताविरुद्ध युद्ध घोषणा गरेको छ, आधा रातमा छापा मारिरहेको छ, नागरिकलाई गिरफ्तार गरिरहेको छ, उनीहरूको अधिकार खोसिरहेको छ। साथै इन्टरनेट पनि बन्द गराएको छ। सेना आवास क्षेत्रमा प्रवेश गरिरहेको छ। यस्तो लागिरहेको छ, सैनिक जनरल हतास भएका छन्।’ 

 

अन्य सम्बन्धित समाचार:  इजरायल–प्यालेस्टाइन हानाहान जारी