भागरथी हत्याः १२ दिन बित्दा पनि प्रहरी अन्योलमै

बैतडी। दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण भने फेला पार्न सकेको छैन। बलात्कार र हत्यामा संलग्न एकजनामात्र हो कि एकभन्दा बढी थिए भन्ने पनि अझै पत्ता लाग्न सकेको छैन्। विद्यालय गएकी भागरथीको बलात्कार पछि हत्या गरिएको थियो। यस घटनाले गर्दा त्यहाँका बालबालिकामा सन्त्रास छाएको छ। दिनहुँ भागरथीको न्यायको लागि प्रदर्शन हुने गरेका छन्। तर पनि आज सम्म प्रहरीले सानो प्रमाण समेत जुटाउन सकेको छैन्। 

बाटोबाट स्पष्ट देखिने ठाउँमा भागरथीको शव फेला परेको थियो। हत्याको भोलिपल्ट घर फर्किरहेका तीन विद्यार्थीले सडकबाटै उनको शव देखेका थिए। चडेपानी गाउँ र सिल्ल गाउँका मान्छे हिँडडुल गरिरहने बाटोबाट स्पष्ट देखिने स्थानमा दिनदहाडै बलात्कार र हत्या कसरी भयो ? यो प्रश्नले स्थानीय बासिन्दालाई रन्थन्याएको छ। शव फेला परेको भन्दा केही मिटर तल घंघारुसहितको झाडी छ। ‘बलात्कार र हत्या गर्ने भए सडकबाट देखिने ठाउँमा नगरेर यो झाडीमा गर्नुपर्ने थियो’, आइतबार नागरिककर्मीलाई घटनास्थलको अवस्था देखाउँदै स्थानीय बलदेव भट्टले भने, ‘यही ठाउँमा बलात्कार र हत्या गरेको भन्ने कुरामा हामीलाई शंका लागेको छ।’ कच्ची बाटोबाट घिसार्दै भागरथीलाई शव फेला परेको ठाउँसम्म लगेको स्थानीय बताउँछन्। कच्ची सडकबाट शव फेला परेको ठाउँसम्म बनमारा झाडीमा घिसारेको जस्तो अवशेष पनि देखिएको उनले बताए। शव भेटिएको स्थान र सडकबीचको एक ठाउँमा ढुंगामा लागेर खसेको भागरथीको शरीरको छालाको टुक्रा फेला पारेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ