प्रतिनिधिसभा विघटन चुनाव हुनका लागि गरिएको होइनः प्रचण्ड

चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनको कदम राष्ट्र, नागरिक र लोकतन्त्रको हितमा नरहेको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा सोमवार पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आउँदो प्रतिनिधि सभा चुनाव पनि नहुने विचार व्यक्त गरेका हुन्।

उनले भाने, ‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन।’ लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरू आन्दोलनमा रहेको बताए।

विभिन्न जिल्लामा विरोध सभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उहाँले सम्बोधन गर्ने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठकमा २ कुर्सी खाली राखिने

पूर्वप्रधानमन्त्री दाहाल सोमवार दिवङ्गत आफ्ना सम्धी भरतपुर महानगरपालिका ७ का नरबहादुर केसीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रचण्ड चितवन पुगेका थिए।  नेता दाहाल सोमवार नै काठमाण्डौ फर्किने कार्यक्रम छ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर आउँदो वैशाखमा चुनावको घोषणा गरेयता नेकपाको दाहाल–नेपाल समूहले विरोध प्रदर्शन गर्दै प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग गर्दै आएको छ।